भद्रपुर, माघ २० । भद्रपुर नगरपालिकाले चार वर्षदेखि भुक्तानी नदिएको भन्दै स्थानीय उपभोक्ताहरूले शुक्रबार नगरपालिकाको कार्यालयभित्र तोडफोड गरेका छन्।

आक्रोशित बनेका उपभोक्ताहरूले कार्यालयभित्र रहेको प्लास्टिक कुर्सी, डिजिटल बोर्ड र नगर प्रमुखको कार्यकक्षको एलमुनियमको ढोका तोडफोड गरेका हुन्।

उनीहरूले नगरपालिकाको ज्यादतीविरुद्ध नाराबाजी समेत गरेका थिए। त्यति मात्र नभएर छलफल स्थलमा दुवै पक्षबीच हातपातको स्थितिसम्म सिर्जना भएको प्रत्यक्षदर्शीहरू बताउँछन्।
नगरपालिकाका कर्मचारीहरूले विभिन्न बहाना देखाउँदै काम सम्पन्न भइसकेको योजनाको भुक्तानी रोकेपछि असन्तुष्ट बनेका उपभोक्ताहरू शुक्रबार बिहान नगरपालिका गएका थिए।

उपभोक्ता समितिका अध्यक्ष धर्मचन्द्र सिंह राजवंशी, सचिव ओमप्रकाश पराजुलीलगायत स्थानीय उपभोक्ताहरू भुक्तानीका लागि नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई भेट्न पुगेका थिए। नगर प्रमुखको कार्यकक्षमा दुवै पक्षबीच भइरहेको छलफलका क्रममा ऋण लिएर गरिएको कामको भुक्तानी अहिलेसम्म नपाउँदा प्रेम आचार्य जस्तो अर्को व्यक्तिले आत्मदाह गर्न नपरोस् र परियो भने त्यसको दायित्व नगरपालिकाले लिनुपर्छ भन्दै उपभोक्ताहरू आक्रोशित भएका थिए ।

प्रशासकीय अधिकृत रेग्मीले आत्मदाहको दायित्व र जिम्मेवारी आफूले लिने बताएसँगै दुवै पक्षबीच विवाद चर्किएको थियो। सोही क्रममा आक्रोशित उपभोक्ताहरूले नगरपालिकामा तोडफोड गर्दै नाराबाजीमा उत्रिएको स्थानीय हेमलाल भट्टराईले जानकारी दिए। उपभोक्ता र प्रमुख प्रशासकीय अधिकृतबीच झन्डै हातपात हुने स्थिति नै बन्यो। घटनास्थलमा प्रहरी टोली आएर घटनालाई साम्य बनाएको उनले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्