झापा, माघ २१ । दाताको सहयोगमा निर्माणाधीन विराट भरत विश्रान्ती मानव सेवा केन्द्र बिर्तामोडमा थप अर्को भवन निर्माण हुने भएको छ।

शनिबार दाता परिवारकाले दुई तले भवको शिलान्यास गरेसँगै सुविधा सम्पन्न अर्को भवन बन्ने भएको हो। कोरोना संक्रमणका कारण दुई वर्षअघि निधन भएका बिर्तामोड नगरपालिका –३ का समाजसेवी पर्शुराम सिटौलाका श्रीमती पुण्यवती र छोरा शैलेन्द्र सिटौलाले सो भवनको शिलान्यास गरेका हुन् ।
पर्शुरामको दोस्रो वार्षिक स्मृतिको दिन भवन शिलान्यास गरिएको हो। भवन निर्माणमा ४५ लाख रुपैयाँ बढी लाग्ने जनाइएको छ। भवन शिलान्यासकै दिन दाता परिवारले १० लाख रुपैयाँ हस्तान्तरण गरेको केन्द्रका व्यवस्थापक नारायण आचार्यले बताए ।
भवन शिलान्यास तथा रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका अध्यक्ष डिल्ली प्रसाईं, पूर्वअध्यक्ष हर्कलाल गिरीलगायतको सहभागिता थियो।
दुई बिघा १६ धुरमा निर्माण भइरहेको सो सेवा केन्द्र मुलुककै सबैभन्दा ठूलो, अत्याधुनिक र सुविधायुक्त हुने बताइन्छ ।
सेवा केन्द्र निर्माणका लागि समाजवादी चिन्तक सिके प्रसाईं ( भरतबाबु ) को परिवारले २ बिघा १६ धुर जग्गा निःशुल्क उपलब्ध गराएको छ। जग्गा उपलब्ध भएपछि ५ वर्ष अघिदेखि सेवा केन्द्र निर्माण प्रारम्भ भएको हो।
योगकेन्द्र, पार्क, टावर , आवासलगायतका संरचना बन्दै गरेको सो केन्द्रबाट सशुल्क र निःशुल्क सेवा उपलब्ध गराउने लक्ष्य अभियानकर्ताको छ।
जीवनको उत्तरार्धमा जेष्ठ नागरिकलाई एक्लोपन हटाएर पूर्णजीवनको अनुभूति दिलाउने ध्येयका साथ केन्द्र निर्माण सुरु गरिएको आयोजकले जनाएको छ ।