झापा,माघ २२ । महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबधमा आज धार्मिक मेला लागेको छ ।

हरेक बर्ष माघे शुक्ल पूर्णिमा र स्वस्थानी ब्रतका दिन किचकबध मेला लाग्दै आएको छ । भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध धार्मिक स्थलमा विहानैदेखि श्रद्धालु भक्तजनहरु आउन थालेको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए।
किचकबधको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुक्ल पूर्णिमाका दिन स्वतःस्फूर्त पानी आउने गरेकाले सो पोखरीमा नुहाउँदा ब्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पूरा हुने धार्मिक विश्वास छ ।भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन रहेको छ । भक्तजनहरूले भीमसेनले किचकलाई वध गरेको मूर्तिमा समेत पूजाआर्चना गर्छन्। किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउन गरेकाले घुइँचो लाग्ने गरेको छ ।
महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो किचक सेनापति थिए। पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ।
सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबधलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण दिइयो। किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले आज स्थानीय बिदा दिएका छन् ।