झापा , माघ २२ । आज विहान विद्युत सर्ट भई आगलागी हुँदा झापा अर्जुनधारा–७ का इन्द्रबहादुर लिम्बूको काठको दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

शनिश्चरे प्रहरी चौकीका अनुसार विहान ५ः३० बजेदेखि सुरु भएको आगलागीबाट प्रारम्भिक रुपमा २३ लाख ९० हजार रुपैयाँ बढीको धनमाल क्षति भएको छ । आगलागीबाट १० लाख बराबरको घर, चार लाख ७२ हजार नगद, डेढ तोलाको सुनको औंठी, डेढ तोलाको सुनको सिक्री, दुई लाख बराबरको लत्ताकपडा, चार लाख रुपैयाँ बराबरको अन्य सामग्री जलेको बताइएको छ ।
आगलागी भएको अनुमानित दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगो निभाउन बिर्तामोड नगरपालिकाको बारुण यन्त्र र पानी ट्याङ्कर, मेचीनगर नगरपालिकाको बारुण यन्त्र, सशस्त्र प्रहरी बल वेस क्याम्प शनिश्चरे, शनिश्चरे प्रहरी चौकी र स्थानीय परिचालित भएका थिए ।सो आगलागीका कारण छिमेकी मुना बाँस्कोटाको घरमा पनि क्षति पुगेको छ ।