झापा,माघ २२ ।प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जनाको सरुवा र ३४ जना डीएसपीको काज सरुवा गरेका हुन् ।सो क्रममा झापाका सबै प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको पनि सरुवा भएको छ ।सरूवा हुनेमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी बसन्त पाठक,इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलिपकुमार गिरी, त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवर र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोको पनि सरुवा भएको छ ।

प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रवक्ता पाठकको ठाउँमा खगेन्द्र रिजाल आउने भएका छन् । डीएसपी पाठक उपत्यका अपराध अनुसन्धान कार्यालय जाने भएका छन् भने रिजाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानबाट आउने भएका छन् । त्यस्तै दमकको कमाण्ड सम्हाल्न जिल्ला प्रहरी परिसर ललितपुरबाट मनोजकुमार लामा आउने भएका छन् ।त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी कुँवर केन्द्रीय अनुसन्धान ब्युरो जाने भएका छन् । उनको ठाउँमा रामेछाप घर भएका सुरज कार्की जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट आउने भएका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी महतोको ठाउँमा जिल्ला प्रहरी परिसर ललितपुरबाट डीएसपी दीपक भारती आउने भएका छन् । डीएसपी महतोको भने मधेश प्रदेश प्रहरी कार्यालयअन्तर्गत गम्भीर अपराध अनुसन्धान शाखा जनकपुरमा सरुवा भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्