बिर्तामोड,माघ २३ ।बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा जनता आवास कार्यक्रमअन्तर्गत बनेका घरहरुको अनुगमन गरेको छ ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नगरका लेखा प्रमुख तेजेन्द्र तामाङ, उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेललगायतको टोलीले घरहरुको अनुगमन गरेको हो ।
यस वडामा ६ वटा घर निर्माणका लागि गत आर्थिक वर्षमा छुट्टिएको बजेटबाट बनेका घरहरुको अनुगमन गरिएको उपप्रमुख संग्रौलाले बताए । उनले निर्वाचनलगायत विविध कारणले घर निर्माणमा ढिलाई भएको बताए ।

प्रतिघर २ लाख २० हजार रुपैयाँका दरले जम्मा १३ लाख २० हजार रुपैयाँ ६ वटा घर निर्माणका लागि बजेट छुट्टिएको थियो । तर, निर्माणका क्रममा नगरले दिएको बजेटको अतिरिक्त घरधनी आफैले रकम थप गरेर घर निर्माण गरेकाले फरक–फरक ढंगका घरहरु निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिए ।

वडाका कर्णबहादुर शेर्मा, प्रेमाकुमारी सार्की, शोवी सार्की, उमा दाहाल, मन्जु सोरेन र धनमाया निरौलाको घर निर्माण गरिएको हो । उपप्रमुख संग्रौलाले बिर्तामोड नगरपालिकाभित्र विगत ५ वर्षयता जनता आवास कार्यक्रमअन्तर्गत ६ सय वटाभन्दा बढी घरहरु निर्माण भएको जानकारी दिए । उनले यस चालू आर्थिक वर्षमा समेत सहारा नेपाल र ह्याविट्याट नेपालसंगको सहकार्यमा घरहरु निर्माण हुने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्