एजेन्सी । टर्कीमा हिजो गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय जनाभन्दा धेरै पुगेको छ ।

अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७ सय ४४ जनाको ज्यान गएको पुष्टि भइसकेको रोयटर्सले जनाएको छ ।
टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौँ घाइते भएको बीबीसीले जनाएको छ । टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

हिजो बिहानको भूकम्पपछि कयौँ परकम्प गइरहेका छन् । रातभर पनि खोजी तथा उद्धारको काम भएको छ । लाखौँ मानिस घरवारविहीन भएका छन् । विस्थापितहरुलाई कठ्यांग्रिदो चिसोले समस्या थपेको छ।

यसैबीच भूकम्पका कारण भत्किएका संरचनामा फसेकाहरुको खोजी तथा उद्धारका लागि विश्वका विभिन्न देशबाट विशेषज्ञ टोली पुग्ने क्रम सुरु भएको छ ।
अहिले धेरै देशहरुले उद्धार विशेषज्ञ, डाक्टर, उपकरण र विशेष तालिम प्राप्त कुकुरहरू पठाइरहेका छन् । युरोपेली संघ, बेलायत, फ्रान्स, रुमेनिया, जर्मनी, हङ्गेरी, ग्रिसलगायतका देशबाट उद्धार टोली पुग्ने क्रम सुरु भएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गरेर आवश्यकता अनुसार सक्दो सहयोग उपलब्ध गराउन आफ्ना निकायलाई निर्देशन दिएको र आपत्कालीन विभागबाट सहयोग परिचालन सुरु भइसकेको जानकारी दिएका छन् । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो । सन् १९९९ मा उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्