एजेन्सी । सिरियाको सीमानजिकै टर्कीमा अस्ति सोमवार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ८ हजारनजिक पुगेको छ ।

अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२ जना गरी सात हजार ८ सय २६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।
टर्कीमा आठ हजारभन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबारविहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ ।

दुवै देशमा गरी २० हजारभन्दा धेरै मानिस घाइते भएको विवरण प्राप्त भएको र अस्पतालमा रहेका घाइतेहरुको विवरण संकलन भैरहेको उद्धारमा संलग्न अधिकारीहरुले बताएका छन् ।
दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएको खबरमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले भूकम्पका ज्यान गुमाउनेको संख्या २० हजार नाघ्न सक्ने र दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् । मान्छे खोज्ने कुकुर र विशेष उपकरणसहित पुगेका उनीहरुले उद्दारको काम गर्नेछन् ।

अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अष्ट्रेलिया, न्युजिल्याण्ड, ग्रिसलगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् ।
अत्यधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् ।
टर्की र सिरियाको सिमानामा सोमवार विहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । कैयौं परकम्पहरु पनि गइरहेका छन् ।

टर्की भूकम्प ः २३ नेपाली सम्पर्कमा
टर्कीमा तेस्रो बाटो प्रयोग गरी जाने भएकाले कति नेपाली छन् भन्ने यकिन विवरण कसैसँग छैन । घरेलु कामदारमा भने म्यानपावर व्यवसायीले श्रम स्वीकृति लिई पठाइरहेका छन् । टर्की मामिला हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले टर्कीमा रहेका नेपालीको सूचना लिइरहेको जनाएको छ । दूतावासका अनुसार नेपालीको अप्रिय खबर आएको छैन ।


टर्कीस्थित गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा १४ विद्यार्थी, चार जना घरेलु कामदार सम्पर्कमा छन् । घरेलु कामदारका रूपमा कार्यरत दुई नेपाली महिला सम्पर्कमा नआएकाले खोजी जारी रहेको पौडेलले जानकारी दिए । उनीहरू भूकम्पअघि साथीहरूसँग सम्पर्कमा थिए ।सम्पर्कमा आएका अन्य नेपालीले भने अहिलेसम्म सबै सुरक्षित रहेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्