झापा, माघ २५ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामै सवारी मर्मत तथा इन्धनमा ५ लाख रकम खर्च गरेको छ ।

पालिका केन्द्रलाई नै सडक सञ्जालले जोड्न बाँकी रहेको उक्त गाउँपालिकाले सवारी मर्मत तथा इन्धन खर्चमा ६ महिनामै करिब ५ लाख रुपैयाँ रकम खर्च गरेको हो । खुम्बुका ५ वडामध्ये वडा नम्बर १ बाहेक अन्य वडाहरुमा हालसम्म सडक सञ्जाल पुग्न सकेको छैन । तर पालिकाका जनप्रतिनिधिले इन्धन खर्च बापत ठुलो रकम खर्च गरेको पाइएको छ । पालिकाले बजेट मार्फत नै एक वर्षका लागि इन्धन खर्चका लागि ५ लाख रकम विनियोजन गरेको तर ६ महिनामै सबै रकम खर्च भएपछि थप गर्नुपर्ने स्थिति देखिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाइँले बताए । यद्यपी पालिकाको गाडी भएको विषयमा वडाका अन्य जनप्रतिनिधिहरु भने अनविज्ञ छन् । एक वडाध्यक्षले भने, ‘हाम्रो पालिकाको आफ्नै सवारी साधन छ भन्ने बारे मलाई जानकारी छैन ।’ प्रमुख प्रशासकीय अधिकृत चापागाइँले भने पालिकाको एउटा ल्याड क्रुजर गाडी काठमाडौंमा सञ्चालन भइरहेकाले खर्च भएको बताए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर १ मा थामडाँडासम्म मात्रै सडक ट्रयाक ओपन भएको छ । सडक ट्रयाक ओपन कार्य भइरहेकाले पालिका केन्द्रसम्म सडक पुग्न समय लाग्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्