झापा, माघ २५ । टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको संख्या ७ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘गार्डियन’का अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । करिब १४ लाख बालबालिका प्रभावित हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्र भूकम्प प्रभावित बनेका छन् । टर्कीमा तेस्रो बाटो प्रयोग गरी जाने भएकाले कति नेपाली छन् भन्ने यकिन विवरण कसैसँग छैन । घरेलु कामदारमा भने म्यानपावर व्यवसायीले श्रम स्वीकृति लिई पठाइरहेका छन् । टर्की मामिला हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले टर्कीमा रहेका नेपालीको सूचना लिइरहेको जनाएको छ । दूतावासका अनुसार नेपालीको अप्रिय खबर आएको छैन । टर्कीस्थित गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा १४ विद्यार्थी, चारजना घरेलु कामदार सम्पर्कमा छन् । घरेलु कामदारका रूपमा कार्यरत दुई नेपाली महिला सम्पर्कमा नआएकाले खोजी जारी रहेको पौडेलले जानकारी दिए । उनीहरू भूकम्पअघि साथीहरूसँग सम्पर्कमा थिए । अन्य नेपालीले भने अहिलेसम्म सबै सुरक्षित रहेको खबर पठाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्