झापा, माघ २५ । सुनसरीमा दादुरा रोगको बिरामी भेटिएको छ ।

सुनसरीको बर्जु गाउँपालिकाको वडा नं-२ का एकजना ७ महिने बच्चामा दादुरा पुष्टि भएको हो । अति छिटो सर्ने सङ्क्रामक रोग मानिने दादुरा बर्जुमा फेला परेको विषय स्वास्थ्य कार्यालय सुनसरीले समेत पुष्टि गरेको छ । कार्यालय प्रमुख सागर प्रसाईले ७ महिने बच्चामा दादुरा पुष्टि भएको बताए । प्रसाईले बच्चाको शरीरमा बिमिरा र ज्वरो आएको जानकारी पश्चात् परीक्षण गर्दा दादुरा पोजेटिभ पाइएको बताए । उनले ७ महिनाको बच्चामा दादुरा पुष्टि हुनुले सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्का उब्जाएको बताए । प्रसाईका अनुसार कुनै पनि एउटै एरियामा एकै समयको सेरोफेरोमा वा एकै पटक ५ जना दादुरा रोगी फेला परे त्यसलाई महामारी ठानिन्छ । जसका आधारमा बर्जुमा एकजनामा सङ्क्रमण पुष्टि भैसकेको र आशङ्कामा थप ३ जनाको नमुना परीक्षण गरिएकाले सो विषयलाई स्वास्थ्य कार्यालय सुनसरीले विशेष चासोका रूपमा लिएको प्रसाईले बताए ।

प्रदेश १ का स्वास्थ्य महाशाखा प्रमुखसमेत रहेका प्रसाईले विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नम्बर वडामा बिरामीको नजिक रहेका र आसंका गरिएकाहरूको स्याम्पल परीक्षणको लागि नमुना सङ्कलन गरेको बताए । उनले क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीले दादुरा भेटिएको बर्जुको वडाको वस्तुस्थिति जानकारी लिएको समेत बताए । प्रसाईले गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयहरूमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गर्न लागिएको समेत बताए । प्रसाईका अनुसार एकजना दादुरा रोगीले १२ देखि १८ जनासम्मलाई रोग सार्न सक्ने हुन्छ । तसर्थ उक्त विषयलाई उच्च प्राथमिकता साथ हेरिएको छ । गम्भीरतापूर्वक उक्त विषयलाई लिएको बताएका स्वास्थ्य प्रमुख प्रसाईले संकलन गरिएको स्याम्पल परीक्षण रिपोर्टका आधारमा थप रणनीति तय गरिने बताए ।

स्वास्थ्य कार्यालय सुनसरी प्रमुख प्रसाईका अनुसार दादुरा ५ वर्षमुनिका बालबालिकामा बढी लाग्दछ । यसले छिट्टै महामारीको रूप लिनसक्छ । जसले गम्भीर प्रकारका जटिलता निम्त्याउनुका साथै मृत्युसमेत गराउन सक्छ । यसैबीच स्वास्थ्य कार्यालय सुनसरीले बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र ५ वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरेको भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्लावासीमा अनुरोध गरेको छ । नेपाल सरकारले देशबाट सन् २०१९ मै दादुरा उन्मूलन गर्ने लक्ष लिएको थियो । तर , बेलाबखत प्रकोप देखिरहँदा उन्मूलनको लक्ष २०२३ सम्म सारिएकोमा पछिल्लो पटक नेपालगञ्ज र अब सुनसरीमा समेत सङ्क्रमण देखिएकाले उक्त लक्ष पुनः पछि धकेलिने सम्भावना बढेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्