झापा, माघ २७ । सरकारले गुलाबको फूल आयात गर्न रोक लगाएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिहीबार सूचना निकालेर अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न सबै कार्यालयलाई पत्र समेत पठाएको हो । केन्द्र अर्न्तगत १५ कार्यालयहरु छन् । ती कार्यालयहरु काँकडभिट्टा, भण्टावारी, बिराटनगर, मलंगवा, जलेश्वर, विरगन्ज तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी, लोमान्थाङ्ग र बैतडीमा छन् । ती सबै कार्यालयलाई गुलाबको आयात अनुमति नदिन केन्द्रले पत्र पठाएको हो । ‘विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात अनुमति पत्र जारी नगर्न सबैमा जानकारीको लागि अनुरोध छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेका केन्द्रले कार्यालयहरुलाई पठाएको पत्रमा भनिएको छ । केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको बताए । ‘फूलसँगै रोगका कीरा आउने, रोगका जिवाणु आउने सम्भावना हुन्छ । विगतमा तिहारको बेला पनि सयपत्री आयातमा कडाइ गरेका थियौ,’ सूचना अधिकारी आचार्यले भने, ‘तत्कालका लागि गुलाबको फूल आयात रोक गरिएको हो, दीर्घकालीन होइन । हाल गुलाबको आयातका सम्बन्धमा प्राविधिक अध्ययन भइरहेको र केही दिनपछि शर्तसहित खुल्ला गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्