झापा , माघ २७ । झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ ।

सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका-४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एक्काइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी विसं २०८० असार मसान्तमा निर्माण सम्पन्न गरिने गरी काम भइरहेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए । करिब ७५ प्रतिशत माछापुच्छ्रे बैंक र सिभिल बैंकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत साधारण शेयरबाट रकम जुटाइएको उनले जानकारी दिए । “आगामी असारभित्र पूरा गर्ने लक्ष्यसहित धमाधम निर्माणको कामलाई तीव्रता दिइरहेका छौँ”, उनले भने, “परियोजनालाई चाहिने आवश्यक सामग्री निर्माणाधीन स्थलमा आइरहेको छ ।” परियोजनाको काम पूरा भएलगत्तै विद्युत् उत्पादन सुरु हुने उनले बताए । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्ने सम्झौता भइसकेको उनको भनाइ छ । पूर्व पश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजनास्थल रहेको छ । त्यहाँबाट नेपाल विद्युत् प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिक छ । कम्पनीबाट उत्पादित सौर्य विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि इनर्जी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरिसकेको छ । भट्टराईले परियोजनामा उच्च प्रविधियक्त सोलार प्यानल तथा उपकरण जडान गरिने बताए ।


उनले नेपाल विद्युत् प्राधिकरण र झापा इनर्जीबीच २०७८ मङ्सिर १२ मा विद्युत् खरिद सम्झौता भइसकेको बताए । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्नेछ । यसका आधारमा आयोजनाले वार्षिक रु १२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको छ । झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास गत वर्ष संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पुर्याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष साँवाले बताए । विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा समेत यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापना गरिएको उनले बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पुर्याउने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्