बिर्तामोड, माघ २७ । झापाको बिर्तामोड लागूपदार्थको प्रयोग र कारोबारको केन्द्र बन्दै गएको छ ।

भारतसंग खुल्ला सीमा जोडिएको झापा जिल्ला लागूपदार्थको ट्रान्जिट पोइन्ट बन्दै गएको अबस्थामा बिर्तामोड सबैभन्दा बढी प्रभावित बनेको हो । बिर्तामोडमा ५ हजारदेखि ७ हजारसम्म लागूपदार्थ प्रयोगकर्ता रहेको अनुमान गरिएको नवयात्रा पुनर्स्थापना केन्द्रका प्रकाश आलेले बताए । दुर्व्यसनमा लागेकामध्ये करिव ३० प्रतिशत विद्यार्थी रहेको बताइन्छ । आलेका अनुसार लगातार रुपमा लागूपदार्थ दुर्व्यसनीहरु पक्राउ पर्नु र पुनर्स्थापना केन्द्रमा बढिरहेको दुर्व्यसनीहरुको चापलाई हेरेर बिर्तामोडमा त्यति धेरै रहेको अनुमान गरिएको हो । यद्यपि त्यसका बारेमा कसैले पनि यकिन तथ्यांक निकालेका छैनन् । लागूपदार्थ दुर्व्यसनबाट सबैभन्दा बढी बिर्तामोडको ५ न. वडा प्रभावित भएको पाइएको छ ।त्यसपछि बिर्तामोडको वडा नं ४ ,१ ,३, २ सहित सबै वडा प्रभावित भएका छन् । बिर्तामोडको भद्रपुर रोड , कन्काई रोड , जात्रुवारी टोललगायतका ठाउँ दुर्व्यसनीहरुको ‘अखडा’जस्तै बनेको छ ।

महिलाहरु पनि दुर्व्यसनमा संलग्न
लागूपदार्थको दुर्व्यसनमा पुरुषसंगै महिलाहरु पनि लागेका छन् ।झापामा २२ वटा पुनर्स्थापना केन्द्र रहेका छन् । त्यसमध्ये एउटा महिला पुनर्स्थापना केन्द्रसहित बिर्तामोडमा ८ वटा पुनर्स्थापना केन्द्र रहेका छन् । चालू आर्थिक वर्ष २०७९–८० को माघ २४ गतेसम्मको करिव साढे ६ महिनाको अवधिमा बिर्तामोड प्रहरीले लागूऔषधमा संलग्न ३० जनालाई पक्राउ गरिसकेको छ । त्यसमध्ये ४ जना महिला रहेका छन् । त्यस्तै १८ वटा मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बूले बताए । उनले पक्राउ परेकासंग १०१.२ ग्राम ब्राउनसुगर र ४.८ केजी गाँजा बरामद भएको जानकारी दिए । लागूऔषध दुर्व्यसनलाई नियन्त्रणमा लिनका लागि बिर्तामोड प्रहरीले तदारुकताका साथ कामकार्वाही गरिरहेको उनले बताए ।

बढ्दो दुव्र्यसनप्रति चिन्ता
बिर्तामोडमा लागूपदार्थ दुर्व्यसनी बढ्दै गएपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । गौरवशाली बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ५ ले १४ औं स्थापना दिवसका अवसरमा विद्यार्थीहरुलाई लक्षित गरी टावर टेम्पल स्कुलमा आयोजना गरेको लागूपदार्थ दुव्र्यसन सचेतना कार्यक्रमका सहभागीहरुले चिन्ता गरेका हुन् । उनीहरुले लागूपदार्थ दुर्व्यसनको समस्या बढिरहँदा समेत नियन्त्रणतर्फ पहल नगर्दा त्यसले विकराल रुप लिनसक्ने बताए । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बूले सहजीकरण गरेको कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई , बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , थारु कल्याणकारिणी सभाका अध्यक्ष पुष्पलाल चौधरी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी,नवयात्रा पुनर्स्थापना केन्द्रका प्रकाश आले , टावर टेम्पल स्कुलका प्रिन्सिपल तेजप्रसाद भट्टराईलगायतले बोलेका थिए । सहकारी संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षतामा उपाध्यक्ष युवराज बिमलीले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव रुपा राजवंशीले गरेकी थिइन् ।

दुर्व्यसन नियन्त्रणको कुनै कार्यक्रम छैन
लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि स्थानीय सरकारले वास्ता नगरिरहेको गुनासो आइरहेको बेला बिर्तामोड नगरपालिकाले अहिलेसम्म कुनै पनि कार्यक्रम गरेको छैन । लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी विभिन्न कार्यक्रम गरिरहेको नगरपालिकाले अहिलेसम्म दुर्व्यसनका बारेमा कुनै पनि कार्यक्रम नगरेको हो । अहिलेसम्म कुनै पनि कार्यक्रम नगरिएको नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख डिल्ली दाहालले बताए । उनले यसअगाडि कुनै पनि कार्यक्रम नगरिएपनि चालू आर्थिक वर्षको बजेटमा नगरका तीनवटा विद्यालयमा सचेतना कार्यक्रम गर्न १ लाख ५ हजार बजेट छुट्याइएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्