झापा, माघ २७ ।झापाको गौरादह नगरपालिका वडा नम्बर ९मा एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

जिल्लाको दक्षिणी भेगमा सहयोगी मनहरु नेपालले शिविरको आयोजना गरेको हो । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरे।
शिविरमा २ सय ४६ जनाले सेवा लिएको र उनीहरुलाई आँखा जाँच र औषधी निःशुल्क गरिएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी दिए । चस्मा लगाउनु पर्ने भए २ सय रुपैयाँ लिएर चिकित्सकको सल्लाह अनुसारको चस्मा प्रदान गरिएको जनाइएको छ । चेकजाँचमा ६ जनाले शल्यक्रिया गर्नु पर्ने देखिएको छ ।

शिविरलाई मेची आँखा अस्पताल बिर्तामोडले प्राविधिक सहयोग गरेको थियो । शिविरमा जेष्ठ नागरिकसँगै बालबालिका तथा वयस्क उमेर समूहकाहरु पनि आँखा परीक्षण गराउन आएका थिए । त्यहाँ आउने अधिकांशमा आँखा चिलाउने, दुख्ने, पाक्ने ,सुन्निने , मोतियाबिन्दु जस्ता समस्या देखिएको शिविरमा सहभागी आँखा रोग विशेषज्ञ डा. पुष्प अधिकारीले बताए । गाउँका बासिन्दालाई सहज स्वास्थ्य सुविधा दिनका लागि गाउँमै स्वास्थ्य शिविर आयोजना गरिएको सहयोगी मनहरु नेपालका अध्यक्ष भीम आचार्यले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्