बिर्तामोड, माघ २७ । लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाबीच अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय सकारात्मक र सृजनात्मकभन्दा पनि नकारात्मक विषयप्रति मानिसहरुको ध्यान धेरै गएको बताइन् । सामाजिक सञ्जाल प्रयोगमा यस प्रकारका कुराहरु बढिरहेको भन्दै उनले सकारात्मक सोचको विकास गर्नु पर्नेमा जोड दिइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नगर प्रमुख प्रसाईले हिंसाका घटनामा महिला र पुरुष दुवैको संलग्नता रहने गरेको र यसको न्यूनीकरणको लागि आ–आफ्नो क्षेत्रबाट सबै लाग्नु पर्ने बताइन् ।

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकालाई हिंसाविरुद्वको नगरपालिकाको रुपमा अघि बढाउनु पर्ने बताए। उनले महिला र पुरुषबीचमा मात्र नभई महिला– महिलाबीच पनि हिंसा रहेको भन्दै एकले अर्कोलाई अपमान गरेर अघि बढ्न नसकिने धारणा राखे ।

अभिमुखीकरण कार्यक्रममा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष, त्रिदेव बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समितिकी सभापति सावित्रा दाहाल भट्टराईले प्रशिक्षण दिएकी थिइन् । नगर उपप्रमुख संग्रौलाको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यपालिका सदस्य यमुना आचार्य, सीता ढुंगाना (विक), शर्मिला राजवंशी, संगीता सिवा,तिला गौतम, निर्मला गजमेर, लक्षिमा खतिवडालगायतका महिला जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका महिला प्रतिनिधि,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्