झापा, माघ २८ । विराटनगर भन्सार कार्यालय (आईसिपी) छेउमा सवारी दुर्घटनामा परी एक जना सुरक्षागार्डको घटनास्थलमै मृत्यु भएको छ ।

शनिवार राति बिराटनगर १८ लावाघाटस्थित आईसिबी बिराटनगर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी झापा मेचीनगर नगरपालिका १३ चारआली घर भएका ४५ वर्षीय राजन गिरीको मृत्यु भएको हो ।

उनी आईसिपीमा सुरक्षागार्डको रूपमा कार्यरत थिए । सुनसरीको इटहरी ९ मा रहेको सुदर्शन सेक्युरिटी सर्भिस प्रालिमा कार्यरत थिए । उनको ४२ वर्षकी श्रीमती, २३ बर्षिया छोरी र १६ वर्षका छोरा रहेका छन् । ड्युटी सकेपछि बंैकमा पैसा झिक्न उनी स्कुटी लिएर गएका थिए ।
उनी चढेको मे १० प ९१६१ नम्बरको स्कुटीलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिएको थियो । भारतीय नम्बर प्लेटको गाडीले ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । ठक्कर दिने चालक फरार छन् । प्रहरीले फरार चालकको खोजी कार्य तीव्र बनाएको छ ।

अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्लामीको नेतृत्वमा प्रहरी परिचालन भएको छ । मृतकको शव अहिले पोस्टमार्टमको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्