बिर्तामोड, माघ २८ । शनिवार बिर्तामोड– १० स्थित महेन्द्रज्योति माविमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरुको टोलीले स्वास्थ्य परीक्षण गर्दा दुईजना शंकास्पद क्यान्सर रोगी फेला परे ।

यसअघि २०७५ सालमा सोही अस्पतालको टोलीले महेन्द्रज्योति माविमै स्वास्थ्य शिविर चलाउँदा ४ जनामा क्यान्सरको लक्षण देखिएको थियो । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा. देज गौतम नेतृत्वको टोलीले शनिवार ३०१ पुरुष र ३६४ महिला गरी ६६५ जनालाई स्वास्थ्य परीक्षण गरेको थियो । टोलीले नाक, कान, घाँटीतर्फ ३७० जना तथा पाठेघर र स्तनतर्फ २९५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । त्यस्तै २० जनाले फलोअप चेकजाँच गरेका थिए ।

चार वर्षअघि करिव साढे ४ सय जनालाई स्वास्थ्य परीक्षण गर्दा चार जनामा क्यान्सर भेटिएको थियो ।यसरी बिर्तामोडमा प्राणघातक क्यान्सर रोगको संक्रमण बढ्दो रुपमा रहेको पाइएको छ । बिर्तामोड नगरपालिकामा राहत लिनका लागि ११४ जना क्यान्सर रोगीले आवेदन दिएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । उनले नगरको कूल जनसंख्या १ लाख १७ हजारमा त्यति जनामा क्यान्सर रोग पुष्टि भइसक्नु र खोजी गर्दा अझ भेटिन सक्ने संभावना रहेकाले त्यसबाट जोगिन सबैले सजग बन्नुपर्नेमा जोड दिए । नगर प्रमुख पवित्रा महतारा प्रसाईले विकास निर्माणका कामभन्दा नगरवासीहरुको स्वास्थ्यलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको बताइन् । स्तन क्यान्सरमा झापा जिल्ला देशभरिमै दोस्रो स्थानमा रहेको जनाइएको छ ।

कार्यक्रममा बोल्दै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा. गौतमले क्यान्सरजस्ता नसर्ने रोगहरु लाग्न नदिनका लागि सचेतना र जीवनशैली परिवर्तन आबश्यक भएको बताए । उनले पाठेघरको क्यान्सरबाट जोगिनका लागि खोपको आविष्कार भइसकेकाले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाउनका लागि भरतपुर आउन आग्रह गरे । बिर्तामोड नगरपालिका , विशाल कृषि सहकारी संस्था र विराटपोखर महिला समूहको संयुक्त आयोजनामा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विशेषज्ञहरुद्वारा नाक , कान , घाटी तथा पाठेघर र स्तन क्यान्सरसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरिएको थियो । शिविरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका ३१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिएको थियो ।

विशाल कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्र गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड– १० का वडाध्यक्ष दुर्योधन गुरुङले पनि बोलेका थिए । विराटपोखर महिला समूहकी अध्यक्ष कृष्णा शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन पृथ्वी बस्नेतले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्