एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्‍यापर गायक किर्नान जारेड फोर्ब्सको डरबनस्थित एक रेस्टुरेन्ट नजिकै गोली हानी हत्या गरिएको छ ।

एकेए भनेर चिनिने यी र्‍यापर ३५ वर्षका मात्रै थिए । उनीसँगै उनका नजिकका साथी तथा व्यावसायिक सेफ तथा व्यापारी टेबेलो ‘टिब्ज’ मोटसोनको पनि हत्या भएको छ । उनीहरू एक नाइट क्लबको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गोली हानिएको अनुमान गरिएको छ । यद्यपि हत्याको कारण भने खुल्न सकेको छैन । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कर्नेल रोबर्ट न्त्शिउन्डाले बीबीसीसँगको कुराकानीमा र्‍यापर एकेए र उनका साथी आफ्नो कारमा जाँदै गर्दा दुई हतियारधारीले उनीहरूलाई नजिकैबाट गोली हानेको जानकारी दिए । यसपछि आक्रमणकारीहरू पैदल नै घटनास्थलबाट फरार भए । प्रहरीका अनुसार यो हत्या ‘हिट एन्ड रन’ पनि हुनसक्ने सम्भावना रहेको बताएका छन् । दैनिक हुने हत्याको हिसाबले दक्षिण अफ्रिका विश्वका अग्रणी देशहरूमा पर्छ । गोली कान्डका घटनाहरू त्यहाँ असामान्य होइनन् । ‘गन फ्री साउथ अफ्रिका’ नामक संस्थाले यस देशमा हरेक दिन ३० जनाको गोली हानी हत्या हुने गरेको अनुमान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्