झापा, माघ २९ ।झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा सडकमा छाडिएका कुकुरको टोकाईबाट एकजना बृद्धको मृत्यु भएको छ ।


सडक कुकुरको टोकाईबाट स्थानीय ६३ बर्षिय अभिचन्द्र दाहालको मृत्यु भएको हो । दाहाललाई गत मंसिर अन्तिम सातामा सामुदायिक कुकुरले टोकेर घाइते बनाएको थियो । सामान्य घाइते बनेका दाहाल घरेलु उपचार गरी घरमै रहेका थिए । पछिल्लो समय दाहाल पानी देखेपछि डराउने गर्न थालेपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो । उपचारमा लैजाँदा अस्पतालले रेबिज भएको बताएको थियो । उपचारपछि घरमा रहेको बेला आइतवार दिउँसो १ बजे दाहालको घरैमा मृत्यु भएको हो ।
कनकाई नगरपालिका क्षेत्रमा सामुदायिक कुकुरले बाटो हिड्ने बटुवा तथा पाल्तु जनावरलाई टोकेर हैरानी दिने गरेको स्थानीय गणेश सुवेदीले बताए । कनकाई नगरपालिकाको ३,४,५,६ र २ नम्बर वडामा छाडा छोडिएका सामुदायिक कुकुरले बाटो हिड्ने बटुवा र कृषकका पालेका पशुलाई टोकेर घाईते बनाउने र हैरानी दिने गरेको पाइएको छ ।

यसवारेमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले सामुदायिक कुकुरलाई सोझै मार्न नपाइने कानुनी प्रावधान रहेको बताए । सामुदायिक कुकुर नियन्त्रणका लागि हरेक बर्ष नगरपालिकाले विभिन्न संघसंस्थाको सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजको भ्याक्सिङ लगाउने काम गरिरहेको जानकारी दिए । सामुदायिक कुकुर नियन्त्रणका लागि स्थानीय संघसंस्थाको समन्वयमा कार्यक्रमहरु संचालनको तयारी नगरपालिकाले थालेको समेत नगरप्रमुख पोखरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्