झापा ,फागुन १ । नेपालमा कोरोना विरुद्धको नयाँ खोप भित्रिएको छ ।

सोमबार बिहान कतार एयरको उडानबाट ३ लाख ४५ हजार ६०० डोज पहिलोपटक फाइजरको वाई भ्यालेन्ट खोप आएको हो। कोभ्याक्स सुविधामार्फत आएको यो खोप नेपालमा पहिलोपटक प्रयोगमा आउन लागेको हो । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत निषा पराजुलीका अनुसार आएको यो खोप हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिने र मागअनुसार सबै ठाउँमा वितरण गरिनेछ । उनका अनुसार मुख्य त यो खोप बुस्टर डोजको रुपमा प्रयोग हुनेछ । यस्तै फागुन ८ र ११ गते पनि सोही परिमाणमा खोप आउनेछ । बाँकी रहेको १ लाख २० हजार खोप १५ फागुनमा आइपुग्नेसमेत उनले बताइन् । नयाँ बाइभ्यालेन्ट खोप ओमिक्रोन ४ र ५ मा प्रभावकारी देखिएको भन्दै नयाँ भेरियन्टमा प्रभावकारी हुने बताइएको छ । यो खोपको आपत्कालीन प्रयोगका लागि गत १२ पुसमा बसको औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले स्वीकृत गरिसकेको छ । पछिल्लो समय नेपालमा कोभिडविरुद्धको खोप अभाव भएर विदेश जानेहरूले खोप लगाउन पाएका थिएनन भने अन्य बुस्टर डोज खोप लगाउन इच्छा भएकाहरुले पनि खोप लगाउन पाएका थिएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्