भद्रपुर, फागुन १ । मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्डकप आयोजक समितिले प्रतियोगितालाई व्यापक बनाउन भद्रपुर रन सम्पन्न गरेको छ ।


सोमवार आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जितेका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दूरी पार गर्दै उपाधि हात पारेका हुन् ।
त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो भए । महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो भए ।

भद्रपुर–६ स्थित मेची पुलबाट सुरु भएको प्रतियोगिता भद्रपुर बजार–भानुचोक–संगम चोक–सगरमाथा चोक हुँदै मेची रंगशालामा पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगिताका प्रथम धावकलाई नगद पाँच हजार, दोस्रोलाई तीन हजार, तेस्रोलाई दुई हजार र टिसर्ट प्रदान गरिएको थियो ।
प्रतियोगितामा चौथोदेखि दसौँसम्म हुने धावकलाई जनही नगद एक हजार र टिसर्ट प्रदान गरिएको थियो ।

भद्रपुर रनले खेलकुद क्षेत्रलाई चलायमान बनाउन मद्दत मिल्ने आयोजक संस्थाका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि हुन लागेको भद्रपुर झापाको गोल्डकपको प्रचारप्रसारमा थप टेवा मिल्ने आयोजकको अपेक्षा छ ।

प्रतियोगितामा अप्रतियोगीका रुपमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेल, महासंघ १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाललगायतको सहभागिता रहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी पनि रनमा सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्