झापा , फागुन २ । मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले सबैले देख्ने र बुझ्ने गरी दुई घण्टाभित्र काम सम्पन्न गर्ने जानकारीसहितको नागरिक वडापत्रको व्यवस्था मिलाउन निर्देशन दिएको बताए । मोरङलगायत मुलुकका विभिन्न भागमा रहेका मालपोत कार्यालय र नापीको अनुगमनपछि उनले सेवाग्राही र लेखापढी व्यवसायीबाट पनि मालपोतबाट प्रदान हुने सेवा प्रभावकारी तुल्याउन सहयोगको अपेक्षा गरे । सचिव डा रेग्मीले मालपोत, नापी, स्थानीय तह, वडा कार्यालय, लेखापढी व्यवसायीले अन्तरसम्बन्धित काममा समन्वय आवश्यक रहेको बताए । ‘लेखापढी व्यावसायीले लिने सेवा शुल्कलाई पारदर्शी बनाउनुपर्छ, लागतभन्दा बढी सेवा शुल्क लिन भएन’, उनले भने । मन्त्रालयले मालपोत भूमि प्रशासनसँग जोडिएका कार्यालयमा टोकन प्रणाली, सेवाग्राही प्रतिक्षालय, पिउने पानीसहितको हेल्पडेस्क स्थापना गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्