झापा , फागुन ३ । नेपालले भारत सरकारसँग थप ६८१ मेगावाट विद्युत् निर्यात अनुमति मागेको छ ।

नेपाल भ्रमणका अवसरमा भारतीय परराष्ट्र सचिव विनयमोहन क्वात्रासमक्ष नेपाली पक्षले थप विद्युत् निर्यातको अनुमति मागेको हो । परराष्ट्रसचिव भरतराज पौडेलको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव क्वात्रासँग नेपालले विद्युत् व्यापारका विषयमा भएको छलफलमा थप विद्युत् निर्यातका लागि अनुमति दिन अनुरोध गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग विदेश सचिव क्वात्राले गरेको भेटमा नेपाली पक्षले नेपाल-बंगलादेश विद्युत् व्यापारमा भारतीय सहयोगको समेत अनुरोध गरेको छ । गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिबारे समीक्षा र भारतले प्रसारण अनुमति दिएका आयोजनाबारे उक्त अवसरमा चर्चा भएको छ ।

नेपालले वर्षायाममा बढी हुने बिजुली भारतीय बजारमा बिक्री गर्दै आएको छ । हालसम्म भारतले १० आयोजनाबाट ४५२.६ मेगावाट बिजुली भारत निर्यातको अनुमति दिएको छ । क्वात्रासँग नेपाली पक्षले थप ६८१ मेगावाट विद्युत् निर्यातको अनुमति मागेको छ । विशेषगरी नेपाली पक्षले भारतीय भूभाग र उसका संरचना प्रयोग गरी बंगलादेशसम्म एक सय मेगावाट विद्युत् निर्यातका लागि पनि अनुरोध गरेको छ । यससम्बन्धी बाँकी विषय यही फागुन ४ र ५ मा आयोजना हुने नेपाल-भारत १० औं सचिवस्तरीय बैठकले टुंग्याउने भारतीय पक्षले बताएको ऊर्जा सचिव दिनेश घिमिरेले जनाए ।

नेपाली पक्षले दीर्घकालीन रूपमा भारततर्फ विद्युत् निर्यातका लागि मार्गप्रशस्त गर्न अनुरोध गरेको र यसलाई भारतले सकारात्मक रूपमा लिएको उनको भनाइ छ । थप विद्युत् बिक्रीका लागि अनुमति दिन नेपाली पक्षले गरेको अनुरोधलाई सचिव क्वात्राले सकारात्मक रूपमा लिएको घिमिरे बताउँछन् । ‘हामीले माथिल्लो तामाकोसीलगायतको गरी थप करिब ६८१ मेगावाट बिजुली निर्यात अनुमति मागेका हौं,’ उनले भने, ‘यसमा भारत सरकार सकारात्मक छ । अबको ऊर्जा सचिवस्तरीय बैठकमा यसबारे थप छलफल हुनेछ ।’ भारतले ३९ मेगावाटबाट हाल ४५२ मेगावाट निर्यातसम्म अनुमति दिएको र बाँकी आयोजनाको पनि बिस्तारै अनुमति दिने प्रक्रियामा रहेको क्वात्राले जनाएको सचिव घिमिरेले बताए ।

बंगलादेशसम्म विद्युत् निर्यातका लागि पनि नेपाली पक्षले गरेको आग्रहमा पनि क्वात्राले यस विषयलाई चाँडै टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएको घिमिरेको भनाइ छ । नेपालले पहिलो चरणमा बंगलादेशसम्म ५० मेगावाट विद्युत् निर्यातको प्रयास गरेको थियो । गत भदौ दोस्रो साता बंगलादेशका ऊर्जा सहसचिव र नेपालको ऊर्जा सचिवस्तरीय बैठकमा नेपालबाट बंगलादेशले पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति भएको थियो । त्यसपछि नेपालबाट बंगलादेशसम्म बिजुली पुर्‍याउन भारतीय प्रसारण लाइन चाहिने र त्यसका लागि बंगलादेश र नेपाल दुवैले भारतलाई अनुमतिको अनुरोध गर्ने सहमति भएको थियो ।

नेपाल तथा बंगलादेशले भारतको प्रसारण लाइन प्रयोग गरी बिजुली निर्यात अनुमति मागे पनि त्यसमा हालसम्म कुनै प्रगति भएको छैन । यसबारेको एजेन्डा पनि आगामी सचिवस्तरीय बैठकमा मुख्य रूपमा पेस हुने घिमिरेले जनाए । ‘हामीले बंगलादेशसम्म एक सय मेगावाट विद्युत् निर्यात गर्न चाहन्छौं, त्यसमा तपाईंहरूले सहयोग गर्नुपर्‍यो भन्दा क्वात्राले यसमा आफूले सक्दो प्रयास गर्ने जानकारी दिनुभयो,’ उनले भने । वर्षायाममा खेर जाने बिजुली भारतीय बजारमा बिक्रीका लागि नेपालले निर्यात अनुमति मागेको हो । उक्त अनुरोधलाई भारतीय पक्षले सकारात्मक रूपमा लिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘हामीले बर्खाका बेला नेपालको बिजुली खेर फाल्नुपर्ने अवस्था छ । त्यसैले यसलाई भारतीय बजारमा सजिलै बिक्रीका लागि अनुरोध गरिएको हो । यसमा भारत सकारात्मक देखिएको छ,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्