बिर्तामोड, फागुन ३ ।नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा औषधि खरिदलगायतका क्षेत्रमा अनियमितता भएको भन्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

पार्टीका बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, सचिव गणेश सौगात कालिकोटेलगायतको टोलीले नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नगरपालिका स्वास्थ्य शाखाले बिमा औषधि खरिदमा नगरपालिका आफैले औषधि खरिद गरि विरामीलाई वितरण गर्नुपर्नेमा ठेक्का प्रणालीबाट औषधि खरिद र विक्री गर्ने गरिएको जनार्ईएको छ । औषधि खरिद गर्दा विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएको खरिद गर्नुपर्नेमा नगरपालिकाले मापदण्ड पुरा नगरी आफ्नो अनुकूलतामा खरिद गर्ने गरेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

यसैगरी नगरपालिकाले स्वास्थ्य बिमा बोर्डमा गरेको सम्झौतामा कुल ११३१ प्रकारका औषधिहरु बिक्री वितरण गर्नुपर्नेमा ३०० प्रकारमा मात्रै औषधि वितरण गरेर नागरिकको स्वास्थ्यमा खेलवाड गरेको जनाईएको छ । नगरपालिकाले आफ्नै स्वास्थ्य संस्थाबाट औषधिको बिलिङ गर्नुपर्ने भएपनि ठेक्का लगाएर अन्य स्वास्थ्य संस्थाबाट विलिङ गर्ने गरेको माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ ।

बिर्तामोड नगरपालिकाकी प्रमुख महताराले ज्ञापनपत्र बुझ्दै नगरपालिकाको गलत क्रियाकलाप गर्ने मनसाय नभएको र गल्ती भएको भए सच्याइने प्रतिवद्धता जनाइन् । स्वास्थ्य विमाको औषधि अस्पतालले आफै बितरण गर्दा प्राविधिक समस्या र घाटा भएकोले ठेक्कामा जानु परेको नगर प्रमुख महताराको भनाई थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्