झापा, फागुन ४ । सुनसरीको बर्जु गाउँपालिका-२ मा तीनजनामा दादुरा रोगको पुष्टि भएको छ ।

बर्जु-२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुईजनामा दादुरा पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवैजनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो । बर्जुमा दादुराको आशङ्कामा अन्यको नमूना सङकलन गरेर परीक्षणका लागि पठाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नं वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ । गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गरिएको उनले जानकारी दिए । बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्