झापा , फागुन ८ । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच आज दिउँसो साढे २ बजे भिडन्त हुन लागेको आयोजक समितिले जनाएको छ । पछिल्लो ’ए डिभिजन’ लिगमा पुलिस ११ औँ स्थान र चर्च ब्वाइज नवप्रवेशी टिम हो । आज जित्ने टिमले क्वाटफाइनल प्रवेशसँगै मछिन्द्र फुटबल क्लबसँग भिड्ने छ । मछिन्द्रले हिजो मात्र सातौँ राजर्षि जनक कप फुटबलको उपाधि जितेको हो । आइतबारबाट सुरु भएको गोल्डकप फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्