एजेन्सी । ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ सहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका , भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् । उक्त सहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा सहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । साओ पाउलो सहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८ जना घरबारविहीन भएका तथा तीन सय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीहरूले बाढीपहिरोमा हराएका तथा घाइते भएकाहरूका बारेमा जानकारी दिएका छैनन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच सहरमा आपत्काल घोषणा गरेका छन् । साथै उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन् । राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रम गरेका छन् । उद्दार कार्य जारी रहेको छ । जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ । गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस सहरमा दुई सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्