झापा, फागुन ८ । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा)को यहि फागुन ५ देखि ७ गतेसम्म काठमाडौंमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ।

योसंगै झापा शाखाले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । झापा शाखाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका गतिविधिहरु सञ्चालन गर्दै आएको छ । शिक्षकहरुका लागि तालिम ,गोष्ठी ,सेमिनार र सम्मेलनहरु संचालन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा सम्मेलनहरुमा सहभागी गराएर शिक्षकको पेशागत दक्षता अभिवृद्धिमा सहयोग पुर्याउँदै आएको छ।

यसैगरी मकवानपुर शाखा द्वितीय र ललितपुर शाखा तृतीय स्थान ओगट्न सफल भएका छन्। उत्कृष्ट शाखा छनौट समितिका संयोजक नेल्टाका पूर्वराष्ट्रिय अध्यक्ष हेमन्तराज दाहालले उत्कृष्ट शाखाहरूको घोषणा गरेका थिए। नेल्टा झापाले यस बर्ष मात्र राष्ट्रिय स्तरका शिक्षक प्रशिक्षक तालिम तथा नेपालमै पहिलो पटक महिला अंग्रेजी शिक्षक सम्मेलन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएको थियो।

झापा शाखाका अध्यक्ष धर्मेन्द्र भट्टराईले स्वयंसेवी तथा गैरनाफामूलक संस्था भएर पनि झापाली शिक्षकको पेशागत विकासका लागि आफ्नो संस्थाले गरेको योगदानको उचित कदर भएको बताए। गैरराजनीतिक संगठन नेल्टा झापा जिल्लामा शैक्षिक क्षेत्रमा लोकप्रिय बनेको छ। लोकप्रियता बढेसँगै संस्थाको आजीवन सदस्य बन्नेको संख्या पनि बढ्दै गएको छ। हाल झापा जिल्लामा १५ सयबढी अंग्रेजी भाषा शिक्षक रहेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्