झापा, फागुन ९ । नेपाल प्रहरीमा दैनिक चारजनाले जागिर छाड्ने गरेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयकै पछिल्लो ६६ महिनाको तथ्याङ्कअनुसार दैनिक चारजनाले औषतमा जागिर छाड्ने गरेको पाइएको हो । कोरोना महामारीका समयमा प्रहरी प्रधान कार्यालयले कसैको राजीनामा स्वीकृत गर्ने काममा रोक लगाएकाले पछिल्ला दुई वर्षमा यो संख्या घटेको छ । जागिर छाड्नेमा एआईजीदेखि कार्यालय सहयोगीसम्म छन् । जागिर छाड्नेमा हवल्दारको संख्या सबैभन्दा बढी छ । पछिल्ला पाँच आर्थिक वर्ष र चालु आर्थिक वर्षको माघ १५ गतेसम्मको अवधि ९ हजार २३१ प्रहरीले जागिर छाडेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

माथिल्लो दर्जाले बढुवा लगायतको विषयमा असन्तृष्टि जनाउँदै सेवाबाट बाहिरिन निणर्य गर्दछन् भने तल्लो तहले प्रर्याप्त सेवा सुविधाको अभावमा जागिर छाड्ने गरेका हुन् । सरकारी सेवामा सबैभन्दा बढी जागिर छाड्नेको संख्या प्रहरीमै छ । आर्थिक वर्ष २०७४/७५ मा दुईहजार ५६४ जनाले सेवाबाट राजीनामा दिए । २०७४/०७५ मा राजीनामा दिनेमा १३ सिनियर अधिकृत थिए । यसबाहेक सबैभन्दा बढी जागिर छाड्नेमा एक हजार ८०२ जना हवल्दार थिए । आर्थिक वर्ष २०७५/०७६ मा यो संख्या बढेर तीनहजार ७३ पुगेको छ । जसमा सिनियर अधिकृत २४, जुनियर अधिकृत ४५६, हवल्दार-जवान दुईहजार ५११ र प्रहरी कार्यालय सहयोगी ८२ थिए ।

आर्थिक वर्ष २०७६/०७७ मा पाँच सिनियर अधिकृतसहित दुई हजार ७७ जनाले जागिर छाडेको देखिन्छ । यो वर्ष पनि हवल्दारकै संख्या बढी छ । आर्थिक वर्ष २०७७/०७८ मा जागिर छाड्नेको संख्या कम भएको देखिन्छ । यो अवधीमा ११ सिनियर अधिकृतसहित ७०३ जनाले जागि छाडेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा १५ सिनियर अधिकृतसहित ४९८ जनाले जागिर छाडेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको माघ १५ गतेसम्म ३१६ जनाले जागिर छाडेका छन् । पछिल्ला तीन वर्षमा कोरोना महामारीका कारण राजीनामा दिनेको संख्या घटेको हो । कोरोना महामारीको समयमा प्रहरीले विशेष परिस्थिति बाहेक राजीनामा स्वीकृत नगर्ने नीति लिएको थियो ।
तालिमप्राप्त जनशक्तिले जागिर छाड्दा राज्यलाई घाटा हुने प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेले बताए । विभिन्न पारिवारिक कारणले प्रहरी जागिर छाड्ने क्रम आएको उनको बुझाई छ । सिनियर प्रहरी अधिकृत भने वढुवाको असन्तृष्टि, बेलाबखत नेतृत्वसँगको बेमेलका कारण संगठनबाट राजीनामा दिँदै आएका छन् । प्रहरी ऐन संशोधन गरेर १६ वर्षमा पेन्सन अवधि कायम गर्ने प्रक्रिया सुरु भएकाले जागिर छाड्नेको संख्या घट्ने प्रहरी प्रवक्ता पोखरेलको विश्वास छ । प्रवक्ता पोखरेल राज्यले नै यसबारे सोच्नुपर्ने बताउँछन् । उनले भने, “एउटा प्रहरी उत्पादन गर्न राज्यले ठूलो लगानी गरेको हुन्छ । १५/१६ वर्ष सेवा गरेर उनीहरु परिपक्व भएका हुन्छन् । तर त्यहि बेला जागिर छाड्छन् । यसले संगठन र राज्यलाई नै घाटा हुन्छ । त्यसैले सेवा सुविधाका बारेमा पनि सोच्नुपर्छ ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्