झापा, फागुन १० । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै ६ गुना बढी कैदीबन्दी छन् ।

पच्चीसजना क्षमताको उक्त कारागारमा हाल १५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले जानकारी दिए । कारागारमा हाल ११५ कैदी र ४० थुनुवा छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र ६ थुनुवा, अपहरण मुद्दाका ९, डकैती मुद्दाका ७ तथा ज्यान मार्ने अभियोगका ७ कैदी सजाय भुक्तान गरिरहेका छन् । “क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ”, जेलर खवासले भने । कारागारमा दरबन्दीअनुसारका कर्मचारी नभएको उनको गुनासो छ । ९ जनाको दरबन्दी रहेकामा हाल एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्