भद्रपुर, फागुन १० । मछिन्द्र क्लब प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।


बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक÷एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गरे । उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए ।

यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१ औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै मछिन्द्रलाई खेलमा फर्काए ।
खेललाई बराबरीमा पुर्याएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे ।खेलको ८६ औँ मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे ।
मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ पुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।
आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका महासचिव जिवनकुमार श्रेष्ठले जानकारी दिए ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।

उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्