झापा, फागुन ११ । तत्कालीन माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत खतियासिंह राजवंशीको परिवारले दुर्गा माविमा पाँच लाखको अक्षय कोष स्थापना गरेका छन् ।

आफ्ना बुवाको संझनामा बिर्तामोड ९ स्थित दुर्गा माविका अति विपन्न जेहेन्दार १÷१ जना छात्र–छात्रा र बिर्तामोड नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत विद्यार्थी तथा विद्यालयप्रति समर्पित २ जना उत्कृष्ट शिक्षकहरुलाई अक्षय कोषको व्याजबाट नगदसहित सम्मान गर्ने उद्धेश्यले स्व.खतियासिह राजवंशी स्मृति अक्षय कोष स्थापना गरिएको स्व. खतियासिंह राजवंशीका छोरा संजय राजवंशीले बताए । अक्षय कोषको संस्थापक दाता स्व. राजवंशीकी श्रीमती शारदा (राधिका) खड्का राजवंशी रहेकी छन् । दाता शारदा, विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षको संयुक्त दस्तखतमा अक्षय कोष सञ्चालन हुनेगरी संझौता गरिएको विद्यालयका निवर्तमान प्रधानाध्यापक कृष्णप्रसाद पाठकले बताए । स्व. राजवंशीका श्रीमती शारदा ,छोराछोरीहरु प्रेमा, वन्दना, विजय, सञ्जय, चेतना, निरु र अजय राजवंशी रहेका छन् ।

बिर्तामोड ७ निवासी राजवंशीलाई तत्कालीन माओवादी कार्यकर्ताहरुले २०६० साल भदौ ३१ गते गरामनी बजारमा गोली प्रहार गरेका थिए । उनको उपचारका क्रममा काठमाडौंको बिर अस्पतालमा असोज ४ गते मृत्यु भएको थियो । राष्ट्रिय अनुसन्धान क्षेत्रीय कार्यालय धरानमा कार्यरत राजवंशी बिदामा घर आएका बेला माओवादीहरुले गोली हानेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्