झापा , फागुन १३ । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर ४ मा तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

शनिबार मनोनयन पत्र दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले नेकपा एमालेको पनि सहयोग लिएर सर्वसम्मत रुपमा राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू आशावादी रहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफूसँगै जेल बसेको स्मरण गरेका थिए ।
‘एमाले अध्यक्ष केपी ओली पनि मैसँग जेलमा बस्नु भएको हो । लामो समयदेखिको साथी हो । राष्ट्रपति सबैको साझा पद हो । यसमा मलाई जिताउन उहाँले योगदान गर्नुहोला भन्ने लागेको छ,’ पौडेलले भने ।
उनले सर्वसम्मत राष्ट्रपति हुनका लागि आफूले प्रयास गरेको पनि बताएका छन् । ‘रवि लामिछानेसँग पनि सकारात्मक छलफल भएको छ,’ पौडेलले भने । शुक्रबार साँझ बालुवाटारमा भएको बैठकबाट पौडेलको उम्मेदवारीलाई ८ राजनीतिक दलले समर्थन गर्ने जनाएका छन् ।
‘नेपालको संविधान २०७२ को अक्षरशः पालना गर्ने, संविधानको रक्षा गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न अहिले चुनौती छ,’ उनले भने, ’नेपाली जनताको हातमा आएको सर्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नु पर्नेछ । नेपालमा आएको परिवर्तनलाई संस्थागत गर्दै नेपालको उन्नतिका लागि अघि बढ्ने र नेपालको राष्ट्रिय एकता र अखण्डतालाई जोगाउने काममा मेरो सहयोग हुन्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्