झापा, फागुन १३ । नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्ताव र ५ समर्थकमा एमालेकै सांसद रहेका छन् । नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।
शनिबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

शनिबार दिउँसो उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले संविधानको संरक्षक भएर काम गर्ने बताएका छन् । नेम्वाङले अहिले जनताका छोराछोरी राष्ट्राध्यक्ष हुने व्यवस्था रहेको समेत बताए ।

पहिले कुनै निश्चित कुल घरानाका निश्चित व्यक्ति मात्र शासक हुने व्यवस्था भए पनि अहिले भने जनताको राष्ट्रपति हुने व्यवस्था आफूहरूले ल्याएको उनले बताए । उनले भने, ‘गणतन्त्र स्थापना हुनुअघि निश्चित कुलमा जेठो छोराका रूपमा जन्मेर शासक हुने राष्ट्राध्यक्ष हुने व्यवस्था थियो । तर हामीले बनाएको संविधानअनुसार जुनसुकै कुलघरानामा जन्मिएका छोरा वा छोरी पनि राष्ट्रपति हुने व्यवस्था गरेका छौँ । अर्थात जनताको राष्ट्रपति हुने व्यवस्था गरेका छौँ ।’
जनताको राष्ट्रपति अनुभुत हुनेगरी आफूले काम गर्ने पनि नेम्वाङले प्रतिबद्धता जनाए ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गरेका छन् । अध्यक्ष ओलीले एमालेको तर्फबाट नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
आठ दलहरूबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको पनि अध्यक्ष ओलीको जिकीर थियो । सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्यधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने उनको दाबी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्