झापा, फागुन १४ ।झापा र कास्कीका किशोरीहरूलाई बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनको फुजिन सी मेन घर भई हाल ललितपुर महानगरपालिका–२२ मा बस्दै आएका ४९ वर्षीय याङ लिमिङ छन् ।

उनले नेपाली किशोरीहरुलाई प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट बोलाई ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टेस्थित भाडाको घरमा यौन शोषण तथा दुर्व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए ।
प्रहरीले तीन किशोरीलाई उद्धार गरेको जनाएको छ । कास्की महानगरपालिका–१० रामबजारका १७ वर्षीया दुई र झापा मेचीनगर नगरपालिका–११ का १३ वर्षीया किशोरीलाई बलात्कार गरेको खुलेको समेत प्रहरीको भनाई छ ।

ती चिनियाँ नागरिक याङ लि मिङलाई शनिबार साँझ ललितपुर बुङमतीबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको एसएसपी शाहले जानकारी दिए । ती चिनियाँ नागरिक कुन प्रयोजनका लागि कहिले नेपाल आए, भाडाको घरमा के गर्छन् भन्ने यकिन नभएको र उनीबाट कति किशोरी पीडित छन् भन्ने समेत नखुलेको प्रहरीले जनाएको छ ।
मेचीनगर–११ की ती १३ वर्षीया किशोरी बिहीबार दिउँसो १ बजेतिर आफू अध्ययनरत स्कुल पुगेर साथीहरुसँग बिदा मागेकी थिइन् ।

उनले ‘चिनियाँ अंकलले काठमाडौं बोलाउनु भएकाले त्यतै जान लागेको’ मात्र सुनाइनन्, अरु साथीहरुलाई पनि काठमाडौं गए धेरै पैसा पाइने सुनाइन् ।
विद्यालयका एक जना शिक्षकका अनुसार कक्षा ६ मा अध्ययनरत उनले अरु कक्षाका समेत गरी १० देखि १२ जनालाई आफूसँगै जान प्रस्ताव गरेकी थिइन् ।
‘त्यसबारे कसैलाई नभन्नु भन्दै बुवाको कसम पनि खुवाएकी रैछिन्, अंकलले काम दिनुहुन्छ भन्दै प्रलोभन देखाएको खुलेको छ’, ती शिक्षक भन्छन्, ‘चिनियाँ नागरिकले पूरै ब्रेनवास नै गरेका रहेछन् ।’

उनले काठमाडौं आउने दिन मात्रै साथीहरुसँग यो प्रस्ताव राखेकी होइनन् । शिक्षकहरुका अनुसार एक वर्षअघिबाटै उनले साथीहरुसँग आफूलाई ‘चिनियाँ अंकल’ले धेरै माया गर्ने बताउने गरेकी थिइन् । ती चिनियाँले आफूलाई रिचार्ज कार्ड र सपिङ गर्न पैसा दिने गरेको उनले बताउने गरेकी थिइन् ।
बुवा वैदेशिक रोजगारीमा गएर बेपत्ता भएपछि आमासँग बस्दै आएकी उनीसँग चिनियाँ नागरिकले सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी गर्ने गरेका थिए । पछिल्लो समय कुराकानी बाक्लिदै गएको थियो । स्थानीय एक १८ वर्षीया किशोरीमार्फत उनी चिनियाँ नागरिकसँग जोडिएकी थिइन् ।बिहीबार बेलुकी उनी घर गइनन् । स्काउटमा आबद्ध उनी पहिले पनि बेलाबेला क्याम्प भन्दै बाहिर जाने भएकाले त्यसदिन आमाले त्यति धेरै वास्ता गरिनन् । जब शुक्रबार पनि उनी घर आइनन्, बल्ल आमा आत्तिइन् । स्कुलमा सम्पर्क गर्दा उनी एक महिनादेखि हाजिर नभएको खुल्यो ।

उनले साथीहरुसँग आफू अर्कै स्कुल पढ्न थालेको बताएको खुल्यो । तर, त्यो स्कुल पनि उनी गएको नदेखिएको शिक्षक बताउँछन् । घटनाबारे जानकार एमाले झापाका इञ्जार्च अग्नि खरेलका अनुसार उनी घरमा नभएको थाहा पाएपछि आमाले स्थानीय एक सक्रिय सामाजिक कार्यकर्तालाई खबर गरेकी थिइन् ।
छिमेकी समेत रहेकी ती सामाजिक कार्यकर्ताले विद्यालयमा गएर सोधखोज गर्दा किशोरी काठमाडौंसम्म पुगिसकेको देखियो । ‘त्यसपछि मलाई खबर गर्नुभयो, गम्भीर लागेपछि मैले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई खबर गरिदिएँ,’ खरेल भन्छन्, ‘सीआईबीले अनुसन्धान थालेपछि उनले अन्य बालिकाहरुलाई पनि बन्धक बनाएको खुलेको छ ।’
ब्यूरोका निर्देशक उत्तमराज सुवेदीका अनुसार चिनियाँ नागरिकले बालिकालाई बन्धक बनाएको खबर आएपछि खोजी सुरु भएको थियो । त्यसक्रममा चिनियाँ नागरिक आफैं प्रहरी वृत्त सातदोबाटोसम्म पुगेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्