झापा, फागुन १७ । पहिलो कार्यकालमा प्रदेशको नाम टुंग्याउन नसकेको प्रदेश १ को संसदले यही दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै सो विषयको टुंगो लगाउने प्रयास गर्ने भएको छ ।

स्रोतका अनुसार प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गर्ने तयारी छ । यद्यपि परिस्थिति विग्रन सक्ने भन्दै दलहरुले यो विषयलाई गोप्य राखेका छन् ।
‘नाम नदीको नामबाट हुने भएको छ,’ सत्तारुढ पार्टीका एक नेताले भने, ‘कोशीमा दलहरुबीच सहमति भइसकेको छ । एकैपटक प्रस्ताव राख्ने, उक्त नाममा सबै दलको तर्फबाट समर्थन गर्ने अनि एकै दिनमा पारित गर्ने हाम्रो कोसिस हुनेछ ।’

अघिल्लो संसदमा प्रदेशको नामकरणको विषयमा टुंगो लगाउन दलहरुबीच पटकपटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको थिएन । नामकरणको टुंगो लगाउने विषयमा छलफल हुनासाथ बाहिर पहिचानवादी राजनीतिक पार्टी तथा संघसंगठनहरुले दबाब दिन विभिन्न संघर्षको कार्यक्रम हुन्थ्यो । यस पटक पनि सार्वजनिक हिसावले नामकरणको टुंगो लगाउने प्रयास हुँदा अनावश्यक प्रभाव र दबाब आउनसक्ने सम्भावना थियो । त्यहीकारण प्रदेशको नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरुको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने सहमति भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्