झापा, फागुन १७ । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्तावमाथिको छलफल सकिएको छ ।

सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिएका छन् । दुई घण्टापछि अर्काे बैठक बस्नेछ ।

कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका छन् ।

संशोधन दर्ताको समय सकिएपछि बस्ने अर्काे बैठकमा प्रदेश नामकरणको प्रक्रिया टुंगिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले उक्त प्रस्ताव पारित हुने देखिएको छ । उक्त प्रस्तावको विपक्षमा ४ जना प्रदेश सांसद भएको नेकपा (एकीकृत समाजवादी) र एक जना मात्रै प्रदेश सांसद भएको जनता समाजवादी पार्टी रहेका छन् । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्