झापा, फागुन १८ । प्रदेशसभाबाट प्रदेश १ को नाम ‘कोशी प्रदेश’ पारित भएकोमा पहिचान पक्षधर झापाका आदिवासी समुदायले स्वागत गरेका छन् ।

एउटा जाति विशेषको नामबाट प्रदेशको नामकरण गरिँदा विवाद आउने भएर भूगोलको आधारमा नामकरण गरिएकोमा उनीहरुले खुशी व्यक्त गरेका हुन् । गएराति प्रदेशसभाबाट दुईतिहाई बहुमतले कोशी प्रदेश पारित भएको थियो । कोशी प्रदेश नामकरणको पक्षमा सत्तारूढ दल एमाले, माओवादी र राप्रपा तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसका गरी ८२ सांसदले मतदान गरेका थिए । एकीकृत समाजवादीका ४ जनाले भने विपक्षमा मत दिए । ६ सदस्य अनुपस्थित थिए ।

कुनै एउटा जाति विशेषको नामबाट नराखेर सबैलाई मान्य हुनेगरी प्रदेशको नाम राखिएकोमा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीले खुशी व्यक्त गरे । उनले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रस्ताव गरेको किरात- लिम्बुवान- सगरमाथा प्रदेशप्रति आफूहरुको असहमति नभएपनि किरात र लिम्बू जातिको पहिचान मात्र खोज्न नमिल्ने धारणा राखे । ‘किरातको पहिचानले हाम्रो पहिचान कायम हुन्छ र ?’ उनले प्रश्न गर्दै भने ,‘ समग्र आदिवासी जनजातिको पहिचान समेट्न नसक्ने देखेर विवादरहित रुपमा भूगोलका आधारमा राखेकै नाम स्वागतयोग्य छ ।’

नेपाल सन्थाल विकास संघका अध्यक्ष बडाराम हेमरमले साविक प्रदेश नं १ मा किरातहरुको मात्र बसोबास र सभ्यता नभएको बताए । उनले पहिचान खोज्ने पहिचानवादीहरुले पछि परेका समग्र जातजातिलाई कुनै वास्तै नगरी आफ्नो जातिका लागि मात्र एकल जातीयता प्रदर्शन गरेको टिप्पणी गरे । कसैलाई पनि बाइपास नगर्ने गरी सबैलाई अपनत्व हुने खालको साझा नाम आउनु नै महत्वपूणर् कुरा भएको उनको भनाई थियो । ‘नाम मात्रैले केही हुँदैन पछि परेका जातजातिका लागि विशेष संरक्षित क्षेत्र घोषणा गरिनु पर्छ ’उनले भने,‘ गणतन्त्र आयो आदिवासीका लागि हर्ष न विस्मातजस्तै हुन्थ्यो ।’

त्यस्तै मेचे सिवियारी आफातका केन्द्रीय सचिव वीरेन मेचेले आफूहरुले जिताएर प्रदेशसभामा पठाएको दुईतिहाई जनप्रतिनिधिहरुले पारित गरेको कोशी प्रदेशप्रति कसैले पनि विमति राख्न नमिल्ने बताए । उनले त्यस निणर्यलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।‘ किरात प्रदेशका सन्दर्भमा यदि किरात प्रदेश भएको भए अरु आदिवासी जनजाति असन्तुष्ट बन्ने थिए ’उनले भने ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईले कोशी प्रदेशको विरोधमा आफ्नो पार्टीले आज दिउँसो ३ बजे बिर्तामोडमा सांकेतिक विराध कार्यक्रम राखेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्