झापा , फागुन १९ । विराटनगर महानगरपालिकाले नगर बस सन्चालनको तयारी थालेको छ ।

आगामी तीन महिनाभित्रमा १९ वटा बस सन्चालनमा ल्याउने गरी तयारी थालिएको महानगरले जनाएको छ । प्रदेश सरकार र लगानी बोर्डको सहयोगमा महानगरले नगर बस सञ्चालन गर्ने तयारी गरेको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् । ‘महानगरको १९ वटै वडाभित्रको चोकहरूबाट नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ,’ उनले भनिन्, ‘हरेक १०-१० मिनेटको अन्तरमा नगर बस चोकहरूमा आउनेछ।’ त्यसैको तयारी स्वरूप विराटनगर महानगरपालिकाले सम्भाव्यता रुटहरूको परीक्षण पनि पूरा गरेको छ। अहिले चार वटा रुटहरू तय गरिएको छ। आवश्यकता अनुसार यी रुटहरू थपघट हुनेछ ।

‘नगर बस सञ्चालनका लागि रुटहरू पनि तयार गरेका छौँ’, उनले भनिन्, ‘सवारी चालक र सहचालकहरू नियुक्तिको प्रक्रिया अगाडि बढाएपछि भाडा दर पनि कायम गरिनेछ।’ नगर बस संचालनमा ल्याएपछि सिटी रिक्साको पनि व्यवस्थापन गरिने उनले बताइन्। नगर बस संचालन भएपछि महानगरभित्र चल्ने सिटी सफारीलाई पनि दर्ताको प्रक्रियामा लगिने भएको छ। अहिले महानगरभित्र दर्ता भएका १ हजार १ सय वटा सिटी सफारी छन्। तर यहाँ चार हजार भन्दा बढी सिटी सफारी संचालनमा रहेका छन्। अन्य सफारीलाई दर्ता प्रक्रियामा लगेर व्यवस्थित रूपमा संचालनमा लैजाने संयन्त्र विकास गरिँदै आएको महानगरले जनाएको छ। नगर बसले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई नेपाल सरकारले तोकेबमोजिम सहुलियत दिइने महानगरले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्