झापा, फागुन २० । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र एभिनियर फुटबल क्लब क्यामरुनबीच आज प्रतिस्पर्धा हुँदैछ ।

पहिलो सेमिफाइनल खेलमा युनाइटेड कर्साङ क्लब युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरेको हो भने अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल टिम एभिनियरले काँकडभिट्टासँगको उपाधि भिडन्त पक्का गरेको हो । यसअघि मेची नेत्रालय काँकडभिट्टा गोल्डकप र हेटौंडा गोल्डकपमा भेट भइसकेका टिम हुन् काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) र क्यामरुनी क्लब एभिनियर एफसी ।

संयोगकले फेरि उपाधिकै लागि धरान रंगशालामा दुई टिम आमनेसामने हुने भएकाले खेल रोमाञ्चक हुने निश्चित छ । फागुन ८ गते मात्रै वाग्मती प्रदेशको राजधानी हेटौंडाको मैदानमा चिरपरिचित खेलाडीहरू सम्मिलित केएफटीसीसँग क्यामरुनी टिमको भेट भएको थियो ।
यो टिम यसअघि हेटौंडामा सम्पन्न सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दोस्रो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबसँग पराजित भएको थियो । अहिले सोही हिमालयन शेर्पा क्लबकै अधिकांश खेलाडीहरु झापाको केएफटीसीमा आबद्ध भएर खेलिरहेका छन् ।
यसअघि केएफटीसीले बुढासुब्बा गोल्डकपको १९ औं संस्करणमा सहभागिता जनाएको थियो ।

क्यामरुनी टिम एभिनियरका प्रशिक्षक आशिक थापा मगरका अनुसार दुई वर्षअघि स्थापित क्लबले करिब डेढ दर्जन टुर्नामेन्टमा सहभागिता जनाइसकेको छ । एभिनियरले हालै बर्दिबासमा सम्पन्न मेयर गोल्डकपको फाइनलमा धरानकै आयोजक धरान फुटबल क्लबलाई हराउँदै उपाधि जितेको थियो । उसले २०७८ सालमा हेम्जा गोल्डकप र भरौल गोल्डकप जितेको थियो । गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्