दमक,फागुन २२ । नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अघिल्ला बर्षझै यस वर्ष पनि आफ्नो जन्मदिन विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

जन्मदिनलाई सामाजिक काममा जोड्न मन पराउने उनले यस वर्ष पनि सहयोगको कार्यलाई निरन्तरता दिएका हुन् । यस वर्ष उनले गाउँपालिकाबाट प्राप्त पारिश्रमिकमध्ये रु १ लाख बढी रुपैयाँ जन्मोत्सवमा खर्चिए ।

जन्मोत्सवका अवसर पारेर उनले पालिकाभित्रका किर्तनमण्डली, मन्दिर, ऋषिदेव परिवारलाई जिन्सी सामान र चार जना विपन्न परिवारका विरामीलाई नगद सहयोग प्रदान गरे । आधा दर्जन स्थानमा पुगेर उनले ती सहयोग उपलव्ध गराए ।अध्यक्ष राईका स्वकीय सचिव रोशन दाहालका अनुसार कमल ६ स्थित धर्मज्योति किर्तन मण्डलीलाई एक थान हारमुनियम ,कमल ७ पशुपति टोलका ऋषिदेव बस्तीमा विभिन्न भाडावर्तन प्रदान गरिएको छ ।

यस्तै, कमल ४ का मनोसामाजिक समस्या झेल्दै आएपनि पैसा अभावले उपचार गर्न नपाएका स्थानीय ३७ बर्षिय मिनकुमार विश्वकर्मालाई रु ११ हजार , कमल ३ का ३४ बर्षिय मिर्गाैला रोगी निर्मल फियाकलाई रु ११ हजार प्रदान गरिएको छ । यस्तै, कमल ६ जीवनचौंकको चन्द्रेश्वर शिवपाञ्चायन मन्दिरमा दुई थान सिलिंग पंखा र क्याम्पाको कमल नगर अस्पतालमा उपचार गर्न आएका विरामीहरुलाई समेत फलफूल समेत प्रदान गरेका छन् ।

यस्तै,कमल १ सराङ्गपाडाका शारीरिक रुपमा अशक्त १६ बर्षिया अस्मिता डाँगी र कमल २ क्याम्पाका विरामी पूर्णबहादुर दर्जीलाई उपचार खर्चका लागि जनही रु ११ हजार रुपैयाँ प्रदान गरे । अध्यक्ष राईले विगत तीन वर्षदेखि आफनो जन्मदिनमा यसरी नै सामाजिक गतिविधिहरुमा यथासक्य सहयोग पुर्याउँदै आएका छन् ।

त्यस अवसरमा अध्यक्ष राईसहित कमल गाउँपालिका वडा न. २ का वडाध्यक्ष अशोक लिम्बू,कमल ६ का वडा सदस्य ओमनाथ पराजुली,कांग्रेस प्रदेश सभा (२ ) का कोषाध्यक्ष दिनेश अधिकारी ,सञ्चारकर्मीहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्