झापा, फागुन २३ । तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ ।

काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा हिजो होली मनाइएको थियो । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौसहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।
यसैबीच, धनुषाको जनकपुरधाममा दुई दिने होली महोत्सव सुरु भएको छ । मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको पहिलो दिन हिजो लोप भइरहेको होलीको जोगिरा गीत प्रतियोगिता सम्पन्न भएको छ ।

डेढ दर्जन होरैया समूहको सहभागिता रहेको होली महोत्सवमा विभिन्न जिल्लाका होरैया समूह सहभागी थिए । जानकी मन्दिरको प्राङ्गणमा भइरहेको महोत्सवमा आज महामूर्ख सम्मेलन हुँदैछ । मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले आज विशिष्ट शैलीमा उद्घाटन, हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवम् महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान गरिने बताए । विसं २०६१ सालदेखि जनकपुरधाममा महामूर्ख सम्मेलनको सुरु गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्