झापा, फागुन २३ । ७० वर्षे बृद्ध बाबु चन्द्रलाल ढकाल घरनजिकैको इटाभट्टामा मजदुरी गर्छन् । पाँचजनाको परिवार पाल्न गाह्रो भएपछि घरको एक्लो छोरो बाह्रदशी ६ का ३० वर्षिय जयनारायण ढकाल कमाउन साउदी अरब गए । तर, उनले कमाइ गरेर परिवारलाई खुशी दिन सकेनन् ।

बृद्ध बाबु चन्द्रलाल, ६६ वर्षकी आमा देवीमाया, २६ वर्षिया श्रीमती जमुना भट्टराई ढकाल र अढाई वर्षको नाबालक छोरा गोविन्दका लागि पैसा कमाएर खुशी दिने सपना पूरा गर्न नसकी उनी आफै विरामी भएर फर्किए । ब्लड क्यान्सर रोगले साउदी अरबमै थलिएका उनी घर आउनै नपाई त्रिभुवन विमानस्थलबाट सिधै ह्वील चियरमा बसेर महाराजगंज शिक्षण अस्पतालमा भर्ना भए । सम्पत्तिको नाममा ढकाल परिवारको बाह्रदशी ६ काक्रामारीमा ३ कठ्ठा घरभिटा मात्र छ । सानो कटेरोमा बसेर जनमजदुरी गरेर उनीहरुले जसोतसो गुजारा गर्दै आएका थिए । तर, कमाउन सक्ने बुढेसकालको एक्लो सहारा जयनारायण आफै क्यान्सर रोगबाट थलिएपछि ढकाल परिवारमा अहिले ठूलो समस्या परेको छ ।‘महाराजगंज हस्पिटलमा डेढ लाख जति खर्च भयो बिसेक नभएपछि अहिले बिर्तामोडको बिएण्डसी हस्पिटलमा ल्याएर राखेका छौं’ गंगामाया नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्थाद्वारा हिजो घरमै आयोजित पत्रकार सम्मेलनमा बुबा चन्द्रलालले भने,‘बिएण्डसीमा पनि १३–१४ दिन भयो साढे ४ लाख उठिसक्यो ।’ घरगाउँलेले दिएको सहयोगबाट यतिका दिनसम्म उपचार गराउँदै आएकोमा आर्थिक अभावका कारण अब उपचार गराउन गाह्रो भएको उनले समस्या सुनाए । बिएण्डसीका चिकित्सकले भारतको दिल्लीमा मात्र उपचार संभव हुने र उपचारका लागि २५ लाखजति खर्च लाग्ने बताएको चन्द्रलाल बताए । ‘ बुढेसकालको एक्लो सहारा हाम्रो छोरालाई बचाइदिनु पर्यो ’उनले दुई हात जोडेर विन्ती गर्दै भने,‘तपाईहरुले गर्नुहुने सहयोगप्रति हामी सँधै ऋणी हुनेछौं ।’

जयनारायणकी श्रीमती जमुनाले पनि सहयोगका लागि याचना गरेकी छन् । ‘उपचार पाए मेरो श्रीमान बाँच्नुहुन्छ कृपया बचाइदिनु पर्यो ’उनले भनिन् । तीन वर्षअघि साउदी गएका जयनारायण गत फागुन १ गते काठमाडौं फर्किएका हुन् । साउदीमै रहँदा उनलाई पिलो निस्किने र छालामा घाउ आउने समस्या देखिएको थियो । तर, नेपाल फर्किएपछि मात्र उनलाई ब्लड क्यान्सर लागेको पुष्टि भएको थियो । गंगामाया नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्थाका अध्यक्ष भुपाल बस्नेतले मन, वचन र कर्मले सहयोग गरी जयनारायणलाई बचाइदिन सबैलाई आग्रह गरेका छन् । उनले गरिबीका कारण उपचार नै नपाई कोही पनि मर्न नहुने भन्दै ढकाल परिवारको एक्लो सहारालाई बचाइदिनका लागि सबै सहयोगी हातहरुलाई जुट्न आव्हान गरेका छन् । कार्यक्रममा बाह्रदशी ६ का वडाध्यक्ष रत्नप्रकाश योङहाङले वडा कार्यालयले पनि सहयोग गरेको बताउँदै अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् । सहयोगीहरुले सिद्धार्थ बैंक बिर्तामोड शाखाको खाता नं ०२२१५०६६६२७ मा सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

१ प्रतिक्रिया

  1. खाता नम्बर मत्रै रैछ, नाम पनि भको भए सहयोग गर्ने लाई सजिलो हुन्थ्यो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्