झापा, फागुन २४ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि भोलि हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।
संघीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको उनले बताए।

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन्। मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ।
निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । राष्ट्रपति चयनका लागि भोलि हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा राप्रपा पुगेको हो ।
राप्रपाको आज बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ’राप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ,’ उनले भने ।

राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो । राप्रपाले राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको छ । राजसंस्था पुनःस्थापना मुख्य राजनीतिक ऐजेन्डा बनाउने दलले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने मत पार्टीभित्र प्रभावी भएपछि यो निर्णय आएको हो ।

यसअघि २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा राप्रपाले एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मत हालेको थियो । त्यसबेला संघीय संसद्मा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन एक जनामात्रै सांसद थिए । त्यतिबेला भण्डारीलाई मत दिनुको कारणबारे विज्ञप्ति नै निकालेको थियो । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । राप्रपाको मतभार २ हजार ४५० रहेको छ । संघमा १४ र प्रदेशमा २८ सांसद छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्