झापा , फागुन २५ । नेपाली अर्थोडक्स चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट ठहरिएको छ।

यससँगै चिया उद्यमीले सरकारले सहयोग गरे अन्तर्राष्ट्रिय बजारमा नेपालको उत्पादनले ‘छलाङ मार्ने’ आशा व्यक्त गर्न थालेका छन्।

चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उत्पादनले हालै ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेपछि उद्यमीमा उत्साह थपिएको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईंले बताए। ‘हाम्रो चियाले अब छलाङ नै मार्छ। तर, सरकारले व्यापार सहजीकरणमा साथ दिनुपर्छ’, चापागाईंले भने। उनले चीनसँगको चिया कारोबारका लागि बैंकिङ कारोबार र व्यापारमा सहजीकरण गर्नुपर्ने बताए।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार विश्वका प्रमुख चिया उत्पादक चीन, भारत, केन्या, श्रीलंकालगायत देशसँग कडा प्रतिस्पर्धा गर्दै नेपालले सफलता हासिल गरेको हो। बोर्डले प्रेस नोटमा भनेको छ, ‘यो प्रकारको अवार्ड प्राप्त गर्नु भनेको विश्वमा नेपाली चियाको गुणस्तर सर्वोकृष्ट रहेको प्रमाणित हुनु हो।’

चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको उक्त प्रतिस्पर्धामा तीनजुरे चिया किसान सहकारी समाज लिमिटेडको उत्पादनले ग्रान्ड गोल्ड मेडल अर्थात् ग्रान्ड स्वर्णपदक प्राप्त गरेको हो। बोर्डका अनुसार अन्तर्राष्ट्रिय ‘टेस्टर’बाट सबै प्रकारका परीक्षण पार गरेर नेपाली चियाले अवार्ड पाएको हो।

यस्तै, पाँचवटा उद्योगका उत्पादनले स्वर्णपदक (गोल्डेन मेडल अवार्ड) जितेका छन्। जसमा किसान चिया उत्पादक उद्योग, हिमालयन सांग्रिला चिया उत्पादक, गोरखा टी इस्टेट प्रालि, सिद्धदेवी टी इस्टेट प्रालि, कञ्चनजंघा अर्गानिक अर्थोडक्स चिया उद्योग छन्।
चार उद्योगका उत्पादनले रजत पदक जितेका छन्। जसमा हिमालयन सांग्रिला चिया उत्पादक, श्रीबराह चिया उद्योग प्रालि, तीनजुरे चिया किसान सहकारी समाज लिमिटेड र माईपोखरी चिया प्रशोधन उद्योग छन्। बोर्डले ४० नमुना संकलन गरी स्वाद एवं गुणस्तर परीक्षण गरेर १६ वटा प्रतिस्पर्धाका लागि चीन पठाएको थियो।
चापागाईंले चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा नेपाली चियाको निर्यात हुने बताए। उद्यमीलाई चिनियाँ व्यापारीसँग जोड्न सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
बोर्डका अनुसार नेपालमा करिब १७ हजार हेक्टरमा चिया खेती हुन्छ। वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ। चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन्। ६० हजारभन्दा बढी श्रमिकले चियाको बोटदेखि बजार पुर्याउँदासम्म काम गरिरहेका छन्।
इलामको साखेजुमा रहेका हिमालय सांग्रिला टी प्रोड्युर्ससका प्रोडक्सन म्यानेजर दिनेश रसाइलीले यो अवार्डले चीनमा नेपाली चियाका प्रयोगकर्ता बढ्ने बताए। सो कारखानाले यसअघि पनि वार्षिक ३ हजार किलो गोल्ड टी चीन पठाउने गरेको उनले बताए। उनले भने, ‘यो नेपालको चियाका लागि उत्कृष्ट अवसर हो। यसलाई उपयोग गर्न सरकारको सहयोग आवश्यक छ।’

इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको अभिलेख पाइन्छ। तत्कालीन राजा वीरेन्द्रले २०३९ सालमा झापा, इलाम, पाँचथर, धनकुटा र तेहथुम जिल्लालाई चिया क्षेत्रका रूपमा घोषणा गरे। त्यसपछि सरकारी स्तरबाट व्यावसायिक खेतीको प्रवर्द्धन भएको पाइन्छ। तत्पश्चात् विभिन्न निजी, सहकारी एवं सरकारी संघ÷संस्थाको समन्वयात्मक प्रयासमा नेपाली चिया क्षेत्रले एक प्रकारको सन्तोषजनक अवस्था प्राप्त भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार २०७७÷७८ मा १६.९१७ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २३ हजार ७ सय ४५ मेट्रिक टन उत्पादन भयो। उक्त वर्ष ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात भयो। सो वर्ष ११ हजार १ सय २० मेट्रिक टन निर्यात भएको भन्सार विभागको तथ्याक छ।
विश्वमा चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा नेपाली चियाको निर्यात प्रवर्द्धन गर्न बोर्डले विभिन्न माध्यममार्फत कूटनीतिक प्रयास थालिरहेको जनाइएको छ। चियाको निर्यात सहजताका लागि नेपाल र चीनबीच विभिन्न स्वरमा हुन सक्ने विविध सम्झौतासम्बन्धी प्रोटोकलले तयार गरी कार्य अगाडि बढेको बोर्डले जनाएको छ।अन्नपूर्णबाट

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्