बिर्तामोड, फागुन २६ ।बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा शुक्रबार घरेलु हिंसासम्बन्धी कानून र कानुनी प्रावधानबारे एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा आयोजित कार्यक्रममा सहभागीहरुलाई महिला हिंसा र कानूनी प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पछिल्लो समय महिला हिंसासंगै पुरुष हिंसा पनि बढ्दै गएको बताए । उनले सामाजिक सञ्जाल प्रयोगमा सचेतना अपनाउन सबैलाई आग्रह गरे ।कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपप्रमुख संग्रौलाले लागूऔषधका कारण पनि विभिन्न प्रकारका हिंसा हुने गरेको भन्दै सभ्य समाज निर्माणका लागि सबै एकजुट हुनु पर्ने बताए ।
यस्तै कार्यक्रमकी प्रशिक्षक अधिवक्ता कविता शर्माले पछिल्लो तथ्याङ्क अनुसार समाजमा ८२ प्रतिशत महिला श्रीमानबाट पीडित रहेको बताइन् । उनले महिलाहरुलाई यौनसंग मात्रै जोडेर हेर्ने गरिएको कारण हिंसा बढ्दै गएको बताइन् । आत्मसम्मानमा चोट पु¥याउनु पनि हिंसा रहेको भन्दै उनले सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिइन् ।

यस्तै ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सुरज कार्कीले बिर्तामोडमा मात्रै वार्षिक १ सय ८० वटा भन्दा बढी हिंसाका मुद्धा दर्ता हुने गरेको जानकारी दिए ।
पुरुषको तुलनामा महिलाहरु बढी हिंसामा पर्ने गरेको भन्दै उनले हिंसाको घटना भएको मितिले ९० दिन भित्रमा प्रहरीमा उजुरी दिन सकिने बताए । डिएसपी कार्कीले सहभागीहरुलाई घरेलु हिंसाका बारेमा कसुर, सजाय, कानुनी प्रक्रिया र उपचारका बारेमा जानकारी दिएका थिए ।

कार्यवाहक वडाध्यक्ष ओमनाथ गौतमको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, शर्मिला राजवंशी, संगिता सिवा, वडा सदस्य शर्मिला तिखत्री, चेतन विमली, सहारा नेपालकी कमला थपलियालगायत ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्