मेचीनगर, फागुन २६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको उक्साहटमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने दुईजना पक्राउ परेका छन् ।

बुद्धशान्ति गाउँपालिका–१ मा रहेको अभियान लघुवित्त वित्तीय संस्थाकी एक जना कर्मचारीलाई कालोमोसो दल्ने मेचीनगरका २ जना पक्राउ परेका हुन् ।
विहीबार विहान साढे ८ बजे मेचीनगर–१२ स्थित सहरेडाँगीमा किस्ता र व्याज उठाउन आएकी कर्मचारी सृजना जोगीलाई स्थानीय ५० वर्षिय इखनलाल मेचे र ४५ वर्षीय लख्खी मेचेले कालोमोसो दलेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले महिला कर्मचारी ऋणीको घरमा व्याज उठाउन आउँदा किन आएको, पैसा छैन जाउँ भन्दा वादविवाद भएपछि कालो मोविल टाउकोमा खन्याएको बताए ।

दुई पक्षबीच लछारपछार भएपछि ती महिला कर्मचारीको मोवाइल र हेलमेट फुटेको उनले बताए । कालोमोसो दल्ने दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भईरहेको डीएसपी रिजालले बताए । यसैगरी शुक्रबार मेचीनगर–११ स्थित मंगली चोकमा सहारा नेपाल धुलाबारी शाखाका कर्मचारी ऋणी सदस्यको घरमा किस्ता र व्याज उठाउन जाँदा स्थानीयले लखेटेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्