बिर्तामोड, फागुन २८ । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीले व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालनका लागि वातावरण बनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापनपत्र बुझाएको छ ।


आइतबार महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक मन्दीको चपेटामा परेको अवस्थामा बन्द हड्तालजस्ता कार्यले नेपाली अर्थतन्त्र तहस नहस हुने निश्चित भएको अवस्थामा बजार बन्द गर्ने कुरा जनविरोधी र निन्दनीय भएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा आर्थिक मन्दीकै कारण आयआर्जनमा परेको नकारात्मक असरका कारण आम्दानी घटेकोले बैंकको व्याज समेत तिर्न नसकेर व्यवसायीहरु आत्मदाह र आत्महत्यासम्मको अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

नेपाल उद्योग तथा व्यवसाय महासंघले विरोधका अन्य वैकल्पिक उपायहरु अपनाएर बजार, यातायात तथा शैक्षिक संस्था बन्द गर्ने कार्य तत्काल फिर्ता लिई व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्ने वातावरणको माग गरेको हो ।

नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, व्यवसायी चुडामणि पौडेललगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
आइतबार प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश खारेजीको माग गर्दै गरेको बन्दले झापालगायतका जिल्लाको जनजीवन प्रभावित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्