झापा,फागुन २९ । दुई कार्यकाल राष्ट्रपति बनेर विद्यादेवी भण्डारी आज शीतलनिवासबाट बाहिरिँदै छिन् ।

२०६५ जेठ १५ मा राजतन्त्र समाप्त भएपछि राष्ट्राध्यक्ष निर्वाचित हुने भण्डारी दोस्रो व्यक्ति हुन् ।
पहिलो महिला राष्ट्रपतिका रूपमा सात वर्षको कार्यकाल बिताएकी भण्डारीमाथि संविधान उल्लंघनमा मतियार बनेकोदेखि पार्टीगत पक्षधरता लिएको सम्मका आरोप लाग्यो । संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न दोस्रो पटकसमेत अस्वीकार गरेपछि संवैधानिक दायरा नाघेको भन्दै उनको आलोचना भयो । भण्डारीअघि राष्ट्रपतिका रूपमा आठवर्षे कार्यकाल पूरा गरेका रामवरण यादव पनि विवादमा मुछिएका थिए । उनका पालामा प्रधानसेनापति प्रकरणदेखि अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिसम्मका विषय विवादित बनेका थिए । सामान्य परिवारमा जन्मिएर देशको सर्वोच्च पदमा पुगेका यादव र भण्डारीमाथि पक्षधरता देखाएको र राजतन्त्रको संस्कृतिलाई निरन्तरता दिएको आरोप पनि लाग्यो । यादव अन्तरिम संविधानपछि र भण्डारी नयाँ संविधान बनेपछि राष्ट्रपति निर्वाचित भएका हुन् । संविधानको धारा ६१ ले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी तोकेको छ ।
विद्यार्थी राजनीतिमै रहँदा तत्कालीन नेकपा मालेका भूमिगत नेता मदन भण्डारीसँग विवाह भएपछि भण्डारीको सक्रियता राजनीतिमा कम र घरगृहस्थीमा बढी थियो । एमालेका तत्कालीन महासचिव भण्डारीको २०५० जेठ ३ मा निधनपछि उनी पुनः राजनीतिमा सक्रिय भएकी हुन् । त्यसै वर्ष माघमा भएको उपनिर्वाचनमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौं–१ मा पराजित गरेपछि उनले राजनीतिमा पछि फर्किनुपरेन । एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्षका रूपमा उनले लामो समय काम गरिन् । राष्ट्रपति पद छोडेपछि भण्डारीले आफू राजनीतिमा फर्किने शीतलनिवास पुग्नेहरुसमक्ष बताइसकेकी छन् ।कार्यकाल सकिएपछि यादव सक्रिय राजनीतिमा फर्किएनन् । सरकारले दिएको सुविधा लिएर बसेका छन् । सरकारले दिएको सुविधा नलिने घोषणा गरेकी भण्डारीले भने पुनः सक्रिय राजनीतिमा आउने चाहना राख्दै आएकी छन् ।